उपसभामुखले राजीनामा दिन्न भनेपछि नयाँ सभामुख छान्न नेकपालाई सकस
काठमाडौँ – उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा नदिने अडान लिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने निर्णयमा पुग्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सकस भएको छ ।
सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले अहिले उपसभामुख रहेकी शिवमायालाई राजीनामा गराएर आफूले चाहेका व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको योजना सफल हुन नसकेको हो । उपसभामुख शिवमायाले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सभामुख चयनका विषयमा सत्तारुढ नेकपाका लागि अब दुई विकल्प देखिएका छन् ।एक आफ्नै पार्टीकी शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाएर अरु कुनै दललाई उपसभामुख दिने र अर्काे सभामुख नै अरु कुनै दललाई सुम्पेर उपसभामुखमा शिवमायालाई नै निरन्तरता दिने । तर नेकपा नेतृत्व यी दुवै विकल्पमा जान तयार नहुँदा अहिलेसम्म नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुन सकेको छैन ।
प्रतिनिधिसभा सभामुखविहीन भएको दुईमहिना बितिसक्दा पनि नयाँ सभामुख चयन प्रक्रिया अन्यौलमा परेको हो ।
उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन मन्त्री पदको समेत अफर गरिएको कुरा बाहिर आएको थियो । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी पनि शिवमायालाई राजीनामाका लागि मनाउने प्रयास गरिरहेको नेताहरु बताउँछन् ।
उपसभामुखबाट शिवमायालाई राजीनामा गराएर नेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने विषयमा पार्टीमा छलफल चलिरहेको छ । तर नेता नेम्वाङले यो विषयमा खुलेर प्रतिक्रिया दिन मान्नुभएन । उहाँले नयाँ सभामुखका लागि औपचारिक तथा अनौपचारिक रुपमा कुनै पनि छलफल नभएको जिकिर गर्नुभयो ।
सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि बढाइए पूर्व माओवादीबाट नै चाहिने अडान छाड्न प्रचण्ड पनि तयार रहेको विषय बाहिर आएको छ । यसबाहेक नयाँ सभामुखका लागि ओनसरी घर्ती तथा देव गुरुङ लगायतका नेताहरुको नाम पनि चर्चामा छ ।
चर्चामा रहेका नेताहरुले पार्टीभित्र आन्तरिक लबिङ पनि थालेका छन् । तर नेता देव गुरुङले अहिलेसम्म आफूले सभामुख पदका विषयमा पार्टीमा कसैसँग कुरा नगरेको बाताउनुभयो । उहाँले कसलाई सभामुख बनाउने भन्ने विषयमा भइरहेको छलफलबारे पनि आफूलाई जानकारी नहरेको बताउनुभयो ।
यसअघि पार्टी एकता नभएका बेला तत्कालीन नेकपा एमाले र माओवादीले सभामुख र उपसभामुखमा भागबण्डा गरेका थिए । तत्कालीन माओवादीको भागमा सभामुख परेकाले नयाँ सभामुख पनि पूर्व माओवादीबाटै हुनुपर्ने आवाज पनि पार्टीभित्र बलियो छ ।
तर अर्काे पक्ष अब पार्टी एकता नै टुंगिसकेपछि विगतको गणित कोट्याउन नहुने तर्क गरिरहेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले भने संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई मिलाएर लैजान सक्ने व्यक्तिलाई सभामुखमा चयन गर्न आग्रह गरेको छ । कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सत्ताको आदेशपालकका रुपमा रहने अनुहारलाई सभामुख नबनाउन सुझाव दिनुभयो ।
अहिले संसद सभामुखविहीन भएको लामो समय भइसकेको छ । संसद सभामुखविहीन हुँदा सभामुखले मात्र गर्न मिल्ने कामहरु रोकिएका छन् भने संसदको पाँचौँ अधिवेशन समेत अन्योलमा परेको छ । त्यसैले छिटो भन्दा छिटो संसदको अधिवेशन डाकेर अन्यौलता हटाउन सरकार तत्पर हुनुपर्छ ।