११ महिनामा पौने १४ लाख पर्यटक
रुपन्देही- बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने विदेशी तथा आन्तरिक पर्यटकको संख्या गत वर्षको तुलनामा खासै बढ्न नसकेको पाइएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई उनीहरुको बसाइ अवधि लम्ब्याउन नसकिरहेको अवस्थामा पर्यटक आउने क्रम पनि त्यति उत्साहजनक बन्न सकेको छैन ।
प्रदेश ५ सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० संघारमा आउँदै गर्दा पर्यटक आगमन अपेक्षा अनुसार नबढ्दा पर्यटन व्यवसायीमा निराशा बढेको छ ।
चालू वर्षको ११ महिनामा (जनवरी देखि डिसेम्बर सम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको संख्या १३ लाख ८१ हजार ८ सय ४९ जना रह्यो । जस मध्ये १ लाख ५५ हजार ५ सय ३ तेश्रो मुलुकका, १० लाख ४९ हजार ७ सय २ नेपाली र १ लाख ७६ हजार ६ सय ४४ भारतिय पर्यटक सो अवधिमा लुम्बिनी पुगेको तथ्यांक लुम्बिनी विकास कोषले सार्वजनिक गरेको छ ।
यो संख्या गत वर्षको सोहि अवधिमा तुलनामा थोरैले बढी हो । गत वर्ष यही अवधिसम्म तेश्रो मुलुकका १ लाख ५१ हजार ७ सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका १ लाख ६२ हजार २ सय ११ गरी जम्मा १३ लाख ५६ हजार ९ सय ९३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । वर्ष २०१८ मा कुल लुम्बिनी पुग्ने पर्यटकहरुको संख्या १४ लाख ३३ हजार १ सय १० जना थियो ।
गत वर्षको तुलनामा यो वर्षको ११ महिनामा जम्मा २४ हजार ८ सय ५६ पर्यटक बढी आएका हुन् । “गत वर्ष भन्दा कम्तिमा २५ प्रतिशत पर्यटक वृद्धि हुने अनुमान थियो तर बढ्न सकेन,” लुम्बिनी होटल एशोसियसनका अध्यक्ष मिथुन मान श्रेष्ठले भने ।
भैरहवादेखि लुम्बिनी पुग्ने सडकमार्ग स्तरोन्नतिकै क्रममा रहेकोले असहज यात्राका कारण पर्यटक बढ्न नसकेको हो । त्यसैगरी प्रचारप्रसारको कमि, पर्यटकलाई पर्यटन प्याकेज जस्ता कार्यक्रम नहुँदा पर्यटक चाहे अनुसार बढ्न सकेनन् । सबैभन्दा बढी लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकहरुमा श्रीलंकनहरु हुन् । गत वर्ष भन्दा यस वर्ष श्रीलंकन पर्यटकहरु घटेका छन् । तर अन्य देशका पर्यटकहरु थाइल्यान्ड, चिन, भियतनाम, म्यान्मार, कोरीया, लगायतका देशका पर्यटकहरु न्यून रुपमा बढेका छन् ।
सरकारले राम्रोसँग प्रचारप्रसार गर्न नसकेको विदेशमा हुने पर्यटन प्रबद्र्धन गर्ने प्रचार सामग्रीहरुमा खाली, पशुपतिनाथ, स्वयम्भुनाथ, पोखरा र सौराहाको दृष्य मात्रै राखी लुम्बिनीको मायादेवी मन्दिर नराखी ओझेलमा पार्ने गरिएको र भारतमा कम प्रचार जस्ता कारणले पर्यटक बढ्न नसकेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् ।
भारतमा सरकारले भन्दा निजी क्षेत्रले आफंै प्रबद्र्धन गरिरहेका छन् । “बोधगयामा डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने इन्टरनेशनल बुद्धिष्ट ट्राभल मार्ट कार्यक्रममा लुम्बिनी प्रबद्र्धन तथा प्रचार गर्न हामी आफै ३० जनाको टोली जाँदैछौ,” श्रेष्ठले भने । भारतमा बढी भन्दा बढी प्रचार गर्न जरुरी रहेको नत्र भ्रमण वर्ष २०२०मा पनि अपेक्षा अनुसार पर्यटक बढ्न नसक्ने उनले बताए ।