प्रहरीबाट पत्रकारमाथि भएको कुटपिटप्रति राखेपको पनि आपत्ति
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रहरीले पत्रकारमाथि गरेको कुटपिटप्रति आपत्ति जनाएको छ।
उक्त घटनाबारे राखेपको ध्यानाकर्षण गराउन पुगेको पत्रकारहरुको टोलीसँगकाे भेटमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले रिपोर्टिङका क्रममा पत्रकार कुटिनु गलत भएको बताएका हुन्।पत्रकारहरुले दोषि प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका छन्।प्रहरीको कुटपिटबाट नागरिक दैनिकमा कार्यरत खेल पत्रकार सुमन चापागाई घाइते भएका थिए।रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको तस्बिर खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईमाथि कुटपिट गरेका थिए।कुटपिटबाट घाइते चापागाईकाे व्लुक्रस अस्पतालमा उपचार भइरहेकाे छ।