पत्रकार, कुटपिटमा संलग्न गर्ने चार पक्राउ
धरान, २७ मंसिर । पीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै धरानमा एक जना पत्रकार कुटिएका छन् । पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने चार जनालाई भने प्रहरीले पक्राउ गरेको छ । धरान–१२ स्थित पत्रकार सम्मेलन स्थानमा नै कुटिएका पत्रकार काफ्लेको आँखामा गम्भीर चोट लागेको छ । काफ्लेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल पठाइएको धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धरानले नरेश शाही ठकुरी, दीपक राई, संगीता राई र तुलसीप्रसाद विश्वकर्मालाई पक्राउ गरेको जनाएको छ ।
बिहीबार दिउँसो पत्रकार काफ्लेलाई पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै कुटपिट गरिएको बताइएको छ । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएकाहरूको संघर्ष समितिले पत्रकार सम्मेलन राखेको थियो । सहकारीबाट ठगिएको पैसा फिर्ता नभएको भन्दै संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गर्दा काफ्लेलाई ढिलो आएको आरोपमा समितिका सचिव शाहीलगायतले कुटपिट गरेका थिए । सहकारी संस्थाको करोडौं रुपैयाँ ठगी गरी फरार भएका धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकलाई प्रहरीले पक्राउ परेका छन् । धरानमा ६५ बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका विकलाई प्रहरीले पक्राउ गरेसँगै बिक जेल चलान भएका छन् । पक्राउ परेकालाई कुटपिट तथा अंगभंग मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।