‘एक व्यक्ति, एक पद’ ले संगठन सुदृड हुन्छ
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को अवधारणामा काम हुनुपर्ने बताउनुभएको छ ।
नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुँदा सरकार सञ्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको हो ।
नेता नेपालले सरकारको कामकारबाहीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले जनताले सरकारको कामकारबाहीका विषयमा उठाएका प्रश्नहरुको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले जनताले उठाएका गुनासाहरुको खोजी गरेर सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो । नेता नेपालले आत्मतुष्टिमा रमाउनुको साटो उठेका गुनासा र आलोचनाहरुलाई समाधान गर्दै जानुपर्ने बताउनुभयो ।
नेता नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको समेत दाबी गर्नुभयो । उहाँले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारबारी, उम्मेदवारको चयन लगाएतका कारणले भएको बताउनुभयो ।
नेता नेपालले कालापानी र लिपुलेक सम्बन्धमा सत्य र प्रमाण सहितको प्रतिवेदन भारत सरकारलाई वुझाई सकिएको जानकारी दिनुहुँदै सरकारीस्तरको वार्ताबाट समस्याको समाधान हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुले दुई देश बीच विवाद सिर्जना गर्नु मात्र हुनेछ भन्दै यो समस्यालाई छलफल र वार्तावाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।