सरकारले संसदमा दर्ता गरेको विशेष सेवा विधेयक स्वीकार्य छैन: कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता गरिएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रतिकुल र नागरिकका स्वतन्त्रता र हितविपरीत भएकाले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सोमबार मध्याह्न विज्ञप्ति जारी गरेर सरकारलाई संविधानको प्रतिकुल र नागरिक स्वतन्त्रता र हितविपरीतका विधेयकहरू संसदमा प्रस्तुत नगर्न सचेतसमेत गराएका छन् ।
“विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनीयताको हक लगायतको मौलिक हकको प्रतिकुल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “र संविधानको प्रतिकुल र नागरिकका स्वतन्त्रता र हितविपरीत हुने खालका यस्ता विधेयकहरू प्रस्तुत नगर्न सरकारलाई नेपाली कांग्रेस सचेत गर्दछ ।”
नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयकले संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखेर सरकारले संविधान प्रतिकुल ऐन बनाउने खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।