भद्रपुर-सुकेटार सीधा उडान शुरू
काठमाडौं । सीता एयरले चन्द्रगढी विमानस्थल भद्रपुरबाट ताप्लेजुङको सुकेटार विमानस्थलसम्म सीधा उडान शुरु गरेको छ ।
नेपाल भ्रमण वर्षका अवसरमा पूर्वको धार्मीकस्थल पाथिभरा मन्दिर दर्शन गर्न भक्तजनलाई लक्षित गरी सुकेटारसम्मको उडान शुरु गरिएको सीता एयरका भद्रपुरका स्टेसन म्यानेजर राम अधिकारीले जानकारी दिनुभयो ।
नियमति यात्रु नपाउँदासम्म प्याकेज बनाएर यात्रुलाई सुकेटारसम्म लैजाने योजना अनुसार सोमबार बिहानदेखि उडान शुरु गरिएको हो । करिब एक साताका लागि ताप्लेजुङ उडानको तालिका बनाइसकिएको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चूँडालले बताउनुभयो ।
त्यसैगरी पाथिभरा मन्दिर दर्शनका लागि जाने यात्रुका लागि सुकेटार विमानस्थलमा हेलिकप्टरको व्यवस्था गरिएको पनि चूँडालले जानकारी दिनुभयो ।