एक वर्षभित्र कर्णालीका सबै जिल्लामा ‘फोरजी’
कर्णाली प्रदेशका सबै जिल्लामा ‘फोरजी’ सेवा विस्तार हुने भएको छ। नेपाल टेलिकमले कर्णालीका १० वटै जिल्लामा एक वर्षभित्र फोरजी सेवा विस्तार तयारी गरेको हो।
टेलिकमले अहिले कर्णालीका जिल्लाहरूमा टावर निर्माणलगायत अन्य कामलाई तीव्रता दिएको छ।
टेलिकमको जिल्ला कार्यालय सुर्खेत र क्षेत्रीय कार्यालय नेपालगञ्जले संयुक्त रूपमा कर्णाली प्रदेशका २ सय २५ स्थानमा टावर निर्माण गरिरहेका छन्। एक वर्षभित्र सबै स्थानमा निर्माणाधीन टावर सञ्चालनमा आउने नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले बताए।
कहाँ कति टावर?
फोरजीका लागि सुर्खेतमा ६३, दैलेखमा ३१, कालिकोटमा २१, जाजरकोट र जुम्लामा १८-१८ टावर निर्माण भइरहेका छन्। यसैगरी, सल्यानमा ३९, रूकुम-पश्चिममा १७, डोल्पामा ३, हुम्लामा २ र मुगुमा १३ वटा टावर निर्माण हुँदैछन्।
सिडिएमए साइडसँगै टाढा-टाढासम्म पहुँचका लागि फोरजी सेवामा ८ सय मेगाहर्जको फ्रिक्वेन्सी जडान गरिने खतिवडाले जानकारी दिए।