६ वर्षमा वैदेशिक रोजगारीमा गएका ३८८ जना सम्पर्कविहीन
काठमाडौं, पुष ३
सन् २०१३ देखि २०१९ सम्म नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश गएका ३ सय ८८ जना कामदार सम्पर्कविहीन भएका छन्।
वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिकाअनुसार पछिल्लो ६ वर्षमा संस्थामा ३ सय ८८ जना हराएको उजुरी संस्थामा परेको हो।यसरी हराउनेमा ३ सय १३ जना पुरुष तथा ७५ जना महिला छन्। संस्थाकाअनुसार सबैभन्दा बढी मलेसिया जाँदा वेपत्ता भएको निवेदन परेको छ।सो समयमा २ सय कामदार मलेसियाबाट सम्पर्कविहीन भएका छन्।
यस्तै, ६७ जना साउदी अरब, ४६ जना कुवेत, २३ जना युएई तथा २२ जना कतारबाट सम्पर्कविहीन भएका हुन्। बाँकी ३० जना अन्य मुलुकबाट वेपत्ता भएको संस्थाको तथ्याङकले देखाएको छ।नवलपरासी जिल्लाबाट सबैभन्दा बढी सम्पर्कविहीन भएका छन्। यस्तै, कैलाल, धनुषा, धादिङ, सिन्धुपाल्चोक, सर्लाहि, उदयपुर, सुनसरी, सप्तरी, र नुवाकोटबाट धेरै सम्पर्कविहीन भएको उजुरी संस्थामा परेको छ।
उक्त संस्थाले विदेशी जेलमा परेर सबैभन्दा धेरै सम्पर्कविहीनभएको बताएको छ। यस्तै, विदेशमा प्रेम सम्बन्धमा पर्नु, मृत्यु हुनु, पारिवारिक मनमुटाव, दुर्घटनामा पर्नु, रोजगारदाताका कारणले तथा व्यक्तिगत कारणले सम्पर्क गर्न नचाहेको पाइएको संस्थाले बताएको छ।