Connect with us
Kapilvast Forest

अब सोझै सगरमाथा चढ्न नपाइने, आउँदै नयाँ नियम

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं । अघिल्लो पर्वतारोहणको मौसममा विश्वको सर्वोच्च शिखर सगरमाथामा ‘ट्राफिक जाम’को अवस्था भएको भनेर संसारभरी नै आलोचना भएपछिसरकारले त्यो अवस्थालाई सुधार्ने गरी तयारी गरेको छ ।  पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘यसका लागि आवश्यक सुधार गर्नका लागि हामीले नियमावली बनाएका छौं । त्यो नियमावली मन्त्रिपरिषद्बाट पास भएपछि त्यसलाई लागु गरिनेछ ।’’

उनले अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्यसमा सुधारका लागि जोड दिएको उल्लेख गर्दै भने,‘‘यसअघि नै मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको अध्यक्षतामा गठित समितिको प्रतिवेदनअनुसार सुधारको व्यवस्था गर्न लागिएको हो । ’’

महानिर्देशक घिमिरेका अनुसार अब सगरमाथा आरोहणको प्रयास गर्नुअघि कुनै पनि पर्वतारोहीले यसभन्दा अघि ६ हजार ५ सय मिटरका शिखर आरोहण गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

यस्तै, पर्वतारोहीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ भने हाइ अल्टिच्युड क्लाइम्ब सम्बन्धी गाइडलाई तीन वर्षको अनुभव हुनुपर्नेछ ।  त्यस्तै, लियाजो अफिसर एक जनामात्रै खटाइने गरेकोमा अब सामूहिक रुपमा धेरैजना खटाउने तयारी गरिएको महानिर्देशक घिमीरेले बताए ।
यसअघि एकजना मात्रै खटाइने र त्यस्ता व्यक्ति जाँदै नगइ तलब मात्रै खाएर बस्ने गरेको गुनासो समेत आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायतमा गएको बेलामा बीबीसीले समेत सो विषय उठाएको थियो ।  ‘‘अन्य थुप्रै सुधारका कुराहरु छन् । मन्त्रिपरिषद्बाट पास भएपछि त्यसलाई लागु गरिनेछ,’’ महानिर्देशक घिमिरेले भने ।  स्वास्थ्य सम्बन्धी प्रमाणपत्रको बारेमा भने अझै पनि फर्जी कागजात बन्न सक्ने भनेर धेरैले प्रश्न समेत उठाएका छन् ।

सगरमाथा आरोहणका लागि  नयाँ नियमावली ल्याउँदैमा त्यहाँ हुने मृत्युको संख्या घट्ने बारेमा पहिलाका केही पर्वतारोहीले भने शंका व्यक्त गरेका छन् ।  रोयटर्ससँगको कुराकानीमा अमेरिकी आरोही इद भिस्टर्स र अलान एर्नेटेले त्यस्तो शंका व्यक्त गरेका हुन् ।

अर्नेटले भनेका छन्, ‘‘सन् २०१३ देखि सगरमाथा आरोहणका क्रममा केही न केही गलत भइरहेको छ र नेपाल सरकारले हरेक पटक यस्ता नियम घोषणा गर्छ । तर कहिलेपनि लागु हुँदैन ।’’

यो वर्ष ११ जना पर्वतारोहीको मृत्यु भएकोमा ती मध्ये ९ जना नेपालतर्फ र २ जनाको तिब्बती क्षेत्रमा मृत्यु भएको थियो ।

नेपालले ११ हजार डलर शुल्क बुझाएपछि जो सुकैलाई सगरमाथा चढ्ने अनुमति दिने गरेकोले समस्या आएको भन्दै पहिलादेखि नै त्यसको आलोचना भएको थियो । गएको सिजनमा ३८१ जनालाई आरोहण अनुमति दिइएको थियो ।

शेर्पा समेतका सहयोगी गरेर करिब ८०० मानिसको चहलपहल सो क्षेत्रमा भएकोले ट्राफिक जाम भएको भनेर आलोचना भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu