चौधरी ग्रुपले ७ अर्ब लगानीमा विराटनगरमा ‘ड्राइपोर्ट’ निर्माण गर्दै
काठमाडौं, पुस ५।
चर्चित व्यावसायिक घराना चौधरी ग्रुपले विराटनगरमा ७ अर्ब लगानीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ।विराटनगर भएर भारतको जोगबनीबाट रेल आउने भएपछि त्यसको कार्गो व्यवस्थापन गर्ने गरी चौधरी ग्रुपले यूएईको सर्राफ ग्रुपसँग मिलेर ड्राइपोर्ट निर्माण गर्न लागेको हो।यसका लागि गत आइतबार बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाकीको सहभागिता लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सीजी लजिस्टिक प्रालि तथा सर्राफ ग्रुपका तर्फबाट चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीपत्रअनुसार छ महिनाभित्र सीजी र सर्राफले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाउनुपर्ने बोर्डका प्रवक्ता बलराम रिजालले बताए।‘आगामी ६ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन उहाँहरुले हामीलाई बुझाउनुहुनेछ’, रिजालले नेपालखबरसँग भने, ‘त्यसपछि प्रतिवेदन अध्ययन गरेर उहाँहरुको लगानी स्वीकृत गर्ने÷नगर्ने बोर्डले निर्णय गर्छ।’
रिजालका अनुसार सीजीले ‘मल्टिमोडल पार्क’ सहितको उक्त ड्राइपोर्ट निर्माणका लागि ७ अर्ब बढी लगानी गर्ने प्रस्ताव बोर्डमा पेस गरेको छ।समझदारीपत्रमा हस्ताक्षरपछि चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले तोकिएकै समयमा प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
‘हामी एउटा नमुना लजिस्टिक पार्कका रुपमा यो परियोजना समयमै सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैनौं’, लगानी बोर्डले चौधरीलाई उद्धृत गर्दै ट्वीट गरेको छ।
कस्तो हुन्छ सीजीको पार्करु
चौधरी ग्रुपका जनरल मेनेजर मधुसुदन पौडेलले कार्गो व्यवस्थापनसम्बन्धी कार्य गर्ने हुनाले यो ड्राइपोर्टजस्तै हुने जानकारी दिए।‘पोर्टसँग कनेक्टिभिटी हुन्छ’, पौडेलले नेपालखबरसँग भने, ‘ड्राइपोर्टजस्तै भनेपछि यसमा स्टोरेज सुविधा, सवारीसाधन व्यवस्थापनलगायतका सबै पूर्वाधार निर्माण हुन्छ।’
प्रवक्ता रिजालले कार्गोबाट नेपाल भित्रिने सामान सीजीकै पार्कमा रजिष्टर गर्ने गरी व्यवस्था मिलाइने बताए। उनका अनुसार उक्त पार्कमा आन्तरिक तथा बाह्य तवरबाट रेलमा भित्रिने कार्गोको व्यवस्थापन हुनेछ।
भारतको जोगबनीदेखि नेपालको विराटनगरसम्मको १८ किमि रेलमार्गमध्ये हाल १० किमि निर्माण सम्पन्न भइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले केही दिनअघि नेपालखबरसँगको अन्तर्वार्तामा बताएका थिए।
सीजी र सर्राफ ग्रुपले पहिलो चरणमा विराटनगरमा पार्क निर्माण गर्नेछ। त्यसका लागि सीजीले ठाउँ समेत तय गरिसकेको बताएको छ। त्यसपछि यसको फेज २ परियोजनाका रुपमा प्रदेश २ मा पनि पार्क निर्माण गरिनेछ।बोर्डले पनि विराटनगरपछि सीजीले प्रदेश २ मा पनि यस्तै पार्क निर्माण गर्ने बताएको छ।