दुई भारती नागरिकसहित ५७ वटा गोरू प्रहरी नियन्त्रणमा
पुस ६, दाङ-
दाङ प्रहरीले देउखुरीबाट गोरु तस्करीको आशंकामा ५७ वटा गोरू नियन्त्रणमा लिएको छ। अवैध रूपमा राति भारतबाट नेपाल भित्र्याइएका गोरुसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले शनिबार राति करिब १ बजेको समयमा देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ मुसीधार गाउँबाट दुई जना भारतीय नागरिकसहित गोरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन्। ‘रातको समयमा अवैध रूपमा धेरैको संख्यामा गोरुहरू नेपाल भित्र्याइएको पाएपछि दुई जना भारतीय नागरिकसहित ७५ वटा गोरु नियन्त्रणमा लिएका छौँ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख भट्टराईले भने, ‘नियन्त्रणमा लिएका गोरु बाँके भन्सार कार्यालय बुझाउने तयारी गरिरहेका छौँ।’बिना कागजात धेरै मात्रामा गोरु भेटिएकाले भन्सार कार्यालय पठाउन समस्या भएको समेत बताए।
प्रहरीले भारत बलरामपुर जिल्ला थानालजरूवा मकवानपुर पञ्चायत घर भएका २७ वर्षीय मोहम्मद अनिस सिद्दिकि र सोहि ठाउँ निवासी ५६ वर्षीय जोगी मुसलमानलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख भट्टराईले बताएका छन्। ‘पक्राउ परेका भारतीय नागरिकले गढवाबाट गोरुको माग गरिएकाले आफूहरूले ल्याइदिएको भनेर बयान दिएका छन’,प्रहरी प्रमुख भट्टराईले भने, ‘तर रातको समयमा अवैध रूपमा एकै पटक ठूलो मात्रमा गोरु भित्र्याएकाले तस्कारी हुन सक्ने हाम्रो अनुमान छ।’ पछिल्लो समय खुला सीमानाका दाङको कोइलाबास नाकासँगै अन्य विभिन्न नाकाहरुबाट गोरु नेपाल भित्र्याएर तेश्रो देशसम्म गोरु तस्करी हुने गरेको छ।