तमु ल्होसारमा बिदा माग्दै पोखरामा प्रदर्शन
६ पुस, पोखरा । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार (पुस १५) मा सरकारले राष्ट्रिय बिदा कटौती गरेको भन्दै पोखरामा आइतबार प्रदर्शन भएको छ । तमु ह्युल छोंज धिंको अगुवाइमा पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो ।
गुरुङ समुदायसहित सम्पूर्ण जनजातिको पर्वलाई राष्ट्रिय पर्वबाट हटाइ राज्यले भेदभावपूर्ण व्यवहार गरेको उपस्थितको आरोप थियो । राज्यले धर्म निरपेक्षता घोषणा गरे पनि भेदभाव गरिरहेको उनीहरुको भनाइ थियो ।
‘ल्होसार गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व हो । अहिले आएर राज्यले यसलाई एउटा जातको पर्वमामात्रै सीमित गर्न खोजेको छ,’ धिंका केन्द्रीय उपाध्यक्ष मनोज गुरुङले आक्रोश पोखे, ‘सम्पूर्ण जनजातिलाई अपहेलना गर्दै जम्मा ५ दिनमात्रै बिदामा सीमित गरेको छ ।’ उनले राज्यले निर्णय नसच्याउँदासम्म आन्दोलन कडा रुपमा जारी राख्ने चेतनावनी दिए ।