दोस्रो मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट खेलको तालिका सार्वजनिक
काठमाडौं : दोस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। पुस १५ देखि माघ ४ गतेसम्म इनरुवामा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मनमोहन मेमोरियल क्रिकेट क्लब छन्।
यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र प्रदेश नम्बर २ परेका छन्। समूह ‘सी’ मा प्रदेश नम्बर १, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ रहेका छन्। समूह ‘डी’ मा भने सुदूरपश्चिम प्रदेश, मलेसिया—११ र गण्डकी प्रदेश परेका छन्। प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह मात्र हुनेछ भने प्रतियोगिताका खेलहरू पुस १७ गतेदेखि सुरु हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ को सामना गर्नेछ। प्रत्येक दिन एक खेल हुने प्रतियोगिताको समूहगत चरण पुस २८ गते सकिनेछ। लिग चरणको खेलपछि चारवटै समूहका विजेता सेमिफाइनलमा पुग्नेछन्। माघ १ र २ गते सेमिफाइनल खेल हुनेछ भने फाइनल खेल माघ ४ गते खेलाइनेछ। तयारी अन्तिम चरणमा पुगेको जानकारी प्रतियोगिताका निर्देशक विप्लव घोषले दिए।
मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको विजेताले चार लाख पाँच हजार र उपविजेताले दुई लाख पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता सम्पन्न गर्न एक करोड २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगितालाई राखेपले पनि सहयोग गरेको छ।