आज पुलिस र उदयपुर भिड्दै
इलाम : धनकुटामा जारी रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपमा सोमबार विभागीय टिम नेपाल पुलिसले बसाहा राइजिङ युथ क्लब उदयपुरको सामना गर्दैछ। धनकुटाको तल्लो टुँडिखेलमा हुने खेलको विजेता टिमले फाइनल प्रवेशका लागि अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले उदघाटन खेलमा मोरङ–११ लाई ११–० फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।
सुनसरीको पोस्टमा आर्मीको १० गोल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा शर्मिला थापाको पाँच गोलको मद्दतमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुनसरीको बराह क्षेत्र फुटबल क्लबको पोस्टमा १० गोल गर्न सफल भयो। सुरुवातबाटै दबाब बनाएको आर्मीका लागि शर्मिला थापा एक्लैले पाँच गोल गरिन्। खेलको सातौं मिनेटमा शर्मिलाले टिमका लागि पहिलो गोल गरिन्।
दुई मिनेट नबित्दै उनले व्यक्तिगत गोल संख्या दुई पुर्याइन्। १३ औं मिनेटमा सपना लामाले आर्मीको लागि तेस्रो गोल गरिन्। २३ औं र २४औं मिनेटमा विमला चौधरीले लगातार गोल गरिन्। २५औं मिनेटमा शर्मिलाले ह्याट्रिक पूरा गरेपछि पहिलो हाफमा आर्मीले ६–० गोल अन्तरको अग्रता बनाएको थियो। त्यसपछि पनि आर्मीको आक्रमण गर्ने क्रम रोकिएन।
दोस्रो हाफ सुरु भएको एक मिनेट नवित्दै रश्मीकुमारी घिसिङले टिमका लागि सातौं गोल गरिन्। खेलको ६६ र ६७औं मिनेटमा गोल गर्दै शर्मिलाले व्यक्तिगत गोल संख्या पाँच पु¥याइन्। ७१औं मिनेटमा पूजा रानाले गोल गरेपछि १०–० गोल अन्तरको फराकिलो जितका साथ आर्मीले सेमिफाइनलमा स्थान बनायो। पाँच गोल गरेकी शर्मिला खेलको वुमन अफ दि म्याच घोषित हुँदै नगद तीन हजार प्राप्त गरिन्। जितसँगै फाइनल प्रवेशका लागि आर्मीले पुस १५ मा रौतहट र आयोजकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।