कपिलवस्तुको महाराजगंजमा पशु बिमा सम्बन्धी अभिमुखीकरण
सनिउल्ला धोबी कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिकामा पशु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । किसानले व्यवसायिक उत्पादनका लागि पालेका पशु चौपाया मरेमा वा अन्य समस्या भएमा अनुदान मार्फत क्षतिपूर्ति पाउने व्यवस्था भएकाले यो पशु विमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताईएको छ ।
पशु बिमा कार्यक्रममा यस क्षेत्रका किसान तथा फर्महरुले आफ्नो गाई,भैंसी बाख्राको बिवरण वडा कार्यालय मार्फत पालिकाको पशु सेवा शाखामा पेश गरेपछी अभिमुखीकरण कार्यक्रममा आयोजना गरेको महाराजगंज नगरपालिकाले जनाएको छ ।
भैसी, बाख्रा पालक किसानहरुको संख्या बढेपछि बाख्राको बिमा गर्नेहरु बढेका छन् । नगरपालिका मार्फत खसी तथा बोकाको बिक्री वितरण हुँदै आएकोले तालिम अभिमुखीकरणको आवश्यकता भएको महाराजगंज नगरपालिकाको उप प्रमुख शुभावती कुर्मीले बताउनु भयो ।
बीमा गर्दा पशुधनको सुरक्षाको दृष्टीले राम्रो हुने भएकाले पछिल्लो समय यस्ता कार्यक्रम प्रति किसान आकर्षित हुन थालेको महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनुभयो ।
महाराजगंज नगरपालिका पशु सेवा शाखाको अयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कृषक अगुवाहरुले सहभागीता जनाएको पशु सेवा शाखाका प्रमुख अशोक कुमार पाण्डेले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा पशु बिमाको परिचय, महत्व र प्रक्रियाबारे डा.अखिलेश्वर पाण्डेय र लुम्बिनी जनरल ईन्स्योरेन्स कपिलवस्तुका मोती प्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।