जाजरकोटमा विश्वमै लोपोन्मुख प्रजातिका चरा भेटिए
जाजरकोट – बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चराहरू फेला परेको छन्।१ हजार ८९१ मिटरदेखि २ हजार ३०९ मिटरसम्मको उचाइमा रहेको सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चराहरू फेला परेको रेडपाण्डा नेटवर्कका भुपाल केसीले जानकारी दिनु भयो ।
उहाँका अनुसार विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रिय स्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटापन्न वन्य जन्तु तथा वनस्तीको अन्तराष्ट्रिय नियन्त्रण सन्धीको अनुसूची (आइआइमा) को सुचीकृत कालोचील, हाडफोर गिद्ध, हिमाली गिद्ध, काकाकुल, कर्रासुगा र(आइआइआइ) सूचीकृत कालिज फेला परेको छ।
त्यस्तै कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख रहेको लामोथुडे चाँचर पनि फेला परेको छ। जैविक विविधताले भरिपूर्ण बारेकोट गाउँपालिकाभित्र ३ दिन लगाएर गरिएको अध्ययनबाट यो पत्ता लागेको हो।
रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लब साझेदारीमा रेडपाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ, भुपाल केसी, चितवन बर्ड सोसाइटीका अध्यक्ष रमेश चौधरी, शिक्षक कालीबहादुर थापा, सामुदायिक वनका वन रक्षक सहितको टोलीले वडा नं १ को कोल्ली खोला रामीडाँडा, आग्रखोला, नीलापारा, ध्यापा टाकुर, वडा नं २ लिम्सा जंगल वडानं ४ मैना, जम्काखोला, कलेबारी, मारेपानी, जंगल तल्कोट, रतनकोट, पाखा र धाउखानी लगायतका जंगलमा अध्ययन गरेको थियो।
रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरङ्गीहरू पाइएको पंक्षी संरक्षक गोविन्द्रबहादुर सिंहले जानकारी दिनु भयो ।
मैनाको कलेबारी सामुदायिक वन अन्तरर्गतको झम्खोला १८९१ मिटरदेखि कलेबारी २३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चराहरू, र रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरीका गरी ८८ थरीका चराहरू फेला परेका थिए।