समस्या परेमा मलाई सिधै सम्पर्क गर्नुस् : एआईजी पाल
काठमाडौं–महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक(एआईजी) हरिबहादुर पालले नागरिकलाई प्राथमिकतामा राखेर काम गर्न मातहतलाई निर्देशन दिनुभएको छ । बुधबार महानगरीय प्रहरी प्रभाग बालकुमारीको भवन उद्घाटन गर्दै एआईजी पालले समस्या परेपछि मात्रै नागरिक प्रहरी कार्यालयमा आउने बताउनु भयो । उहाँले मातहतका प्रहरी कर्मचारीलाई भन्नु भयो – ‘त्यसैले नागरिकको समस्या र सुरक्षामा ध्यान दिनुहोला ।’
प्रहरीले स्वार्थ नराखिकन काम गर्नुपर्ने बताउँदै पालले काठमाडौं उपत्यकामा कसैलाई समस्या परेमा र आफुलाई सिधै सम्पर्क गर्न आग्रह गर्नु भएको छ । ‘आफ्नो समस्या प्रहरीलाई भन्नुस्’ उहाँले भन्नु भयो –‘तपाईको समस्या मलाई सिधै सम्पर्क गरेर पनि भन्न सक्नुहुन्छ ।’
महानगरीय प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित भवनमा आवश्यक फर्निचरको लागी पहलकदमी गर्ने उहाँले बताउनु भयो । ‘अब नयाँ भवन बनाउँदा फर्निचरको लागत समेत राख्न पहल गर्छु’–एआईजी पालले भन्नु भयो ।
कोटेश्वर–कलंकी सडक खण्डमा हुने दुर्घटना न्युनिकरणका लागि स्थानिय निकायसँग सहकार्य गरेर काम गर्ने पालको भनाइ छ ।
भवन उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले ललितपुर महागरलाई स्मार्ट सिटी बनाउन लागीपरेको बताउनु भयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले प्रहरीको नयाँ भवन निर्माण गर्दा फर्निसिङमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।