Connect with us
Kapilvast Forest

वैदेशिक रोजगारी छाडेर च्याउ खेती : मासिक दुई लाख रुपैयाँसम्म आम्दानी

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

पर्वत – रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ ।

पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया जानुभएको थियो । वैदेशिक रोजगारीले उहाँलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनु भएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश जानुभएन ।

त्यसपछि च्याउ खेतीमा लाग्नुभएका सुवेदी अहिले दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लाग्नुभएको छ ।

“मलेसियाबाट फर्के लगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर सुरु गरेको च्याउ खेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत गर्‍यो”, उहाँले भन्नुभयो, “त्यस यताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेँ ।”

यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारामा रहेकाे महाकाली चोकमा च्याउ खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उहाँले कोरोना महामारी भन्दा अघिसम्म यस व्यवसायबाट मासिक दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

“कोरोना सुरु हुनुभन्दा अघिसम्म मासिक दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरे पनि कोरोना महामारीका कारण त्यसयता हालसम्म नै मासिक दुई लाख रुपैयाँकै हाराहारीमा घाटा व्यहोर्दै आएको छु”, उहाँले भन्नुभयो, “आगामी दिनमा कोरोना महामारीको प्रभाव कम हुँदै व्यवसाय पूर्ववत् रुपमा फर्कने आशा गरेको छु ।”

कोरोना महामारीका बेला भएको लकडाउनका कारण च्याउ खेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नु परेको उहाँले सुनाउनुभयो । बन्दाबन्दी पहिला च्याउ खेतीका लागि आवश्यक पर्ने पराल प्रति ट्रक ५० हजार रुपैयाँमा पाइने गरेकोमा अहिले भने एक लाख पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

ट्रकमा पराल ढुवानीका क्रममा बाहिर निस्केमा सडक सुरक्षा जाँचका क्रममा जरिवाना तिर्नुपर्ने लगायतका झन्झटका कारण गाडीवाला पराल बोक्न गाह्राे मान्ने गरेको र ढुवानीमा बढी रकम तिर्नुपरेको उहाँले गुनासो सुनाउनुभयो ।

कोरोना अघिसम्म आफूले १६ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताउनुभयो ।

“पहिले न्युनतम १०० वटासम्म च्याउका टनेल बनाएका थियौं”, उहाँले भन्नुभयो, “प्रत्येक दिन ३०० किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक १०० किलो निकाल्न पनि धौधौ छ ।”

उहाँका अनुसार तापक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रै महिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उहाँले बताउनुभयो ।

सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाउनुभएको छ । बजारमा कन्ये च्याउ प्रतिकिलो दुई सय रुपैयाँ पर्छ भने सिताके च्याउ प्रति किलो ६ सय रुपैयाँ पर्दछ । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उहाँले बताउनुभयो ।

च्याउ खेतीका साथै आफ्नो फर्ममा प्राङ्गारिक तरकारीसमेत उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहनुभएका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने उल्लेख गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu