आफताब आलमलाई छुटाउन लागिरहन्छु : देउवा
रौतहट -नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गर्नु भएको छ ।
पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उहाँले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताउनु भयो । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भन्नु भयो , ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’
भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै उहाँले निर्धक्क भएर बस्न आलमलाई आग्रह गर्नु भयो ।२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा बम विस्फोट भएको थियो । आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम २६ असोज २०७६ मा पक्राउ पर्नु भएको थियो ।उहाँपुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।