पद गए पनि ओलीको साथ छोड्दिन :उर्जामन्त्री रायमाझी
काठमाडौं-नेकपा (एमाले) का नवमनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पार्नु भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पार्नु भयो ।
उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिनु भयो । उहाँले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गर्नु भयो ।
मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गर्नु भयो । उहाँले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी रहेको’ को संज्ञा दिनु भयो ।
उहाँले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाउनु भयो । देशलाई अस्थिरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भए पनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाउनु भयो ।
उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आइपुगेको र अहिले माओवादीबाट एमाले भएको बताउनु भयो । आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पार्नु भयो ।