माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा जारी
काठमाडौं-पार्टीको आगामी रणनीति तय गर्न नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेकपा विघटनपछिको परिस्थिति र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विघटन हुने फैसला गरेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको हो।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका पार्टी नेताहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो। त्यस्तै एमाले केन्द्रीय कमिटीमा मनोनित भएका गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरीलगायतका २२ जनालाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो।