त्रियुगा खेलकुद महोत्सव : भलिबलतर्फ वडा नम्बर १५ विजयी
उदयपुर -गाईघाटमा जारी प्रथम त्रियुगा खेलकुद महोत्सवको भलिबलमा महिला तथा पुरुष दुवैतर्फ त्रियुगा नगरपालिका-१५ ले जित निकालेको छ। त्रियुगा-१० बोक्सेस्थित नायाँबस्ती खेल मैदानमा आइतबार भएको फाइनलमा पुरुषतर्फ वडा नम्बर १० लाई र महिलातर्फ वडा नम्बर ११ लाई हराउँदै वडा नम्बर १५ ले उपाधि कब्जा गरेको हो।
पुरुषतर्फ विजेतालाई २५ हजार र महिलातर्फ २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेतालाई पुरुषतर्फ १५ हजार र महिलातर्फ १२ हजार नगदसहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।
फुटबलतर्फ सोमबार फाइनल खेल हुने भएको छ। आइतबार ४ समूहबीच भएको खेलमा कर्मचारी र आयोजकले जित निकालेको छ। पहिलो खेल पत्रकार र कर्मचारी समूहबीच हुँदा कर्मचारीले २–० ले पत्रकारलाई पराजित गरेको छ भने दोस्रो खेलमा आयोजक टिमले बैंक कर्मचारीलाई ५–० ले पराजित गरेको छ।
त्रियुगा नगरपालिकाको प्रायोजन र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा फागुन २३ देखि सुरु भएको महोत्सवमा विभिन्न आठ विधामा ८०० भन्दा बढी खेलाडी सहभागी छन्। साइक्लिङ, व्याडमिन्टन, कराँते, तेक्वान्दो, बक्सिङ र क्रिकेट र भलिबलको स्पर्धा सकिएको छ।