एपीएफलाई हराउँदै वाग्मती क्वार्टरफाइनलमा
हेटौंडा -विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै सर्लाहीको वाग्मती युवा क्लब हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप’ को क्वार्टरफाइनलमा पुगेको छ ।
वनविज्ञान खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धामा एपीफलाई २–१ ले निराश बनाउँदै वाग्मती अन्तिम ८ मा पुगेको हो ।अघिल्लो दिन ‘गोलबजार गोल्डकप’ को उपाधि जितेर आएको विभागीय टिम हेटौंडामा जारी प्रतियोगिताबाट बाहिरियो ।
३७ औं मिनेटमा कर्नरमार्फत पाएको बललाई सदुपयोग गर्दै विक्रम धिमालले वाग्मतीलाई अग्रता दिलाउनु भएको थियो । त्यसपछि ७४ औं मिनेटमा सागर शाहीले फ्रीकिकबाट आएको पासलाई डि–बक्स भित्र सदुपयोग गर्दै जाली चुमाउनु भयो ।
एपीएफले खेलको अघिकांश समय बलमाथि नियन्त्रण राखे पनि गोलको अवसर भने पाएन । वाग्मतीका खेलाडीले डी बक्सभित्र हातले बल छुँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ८३ औं मिनेटमा रवि थिङले एपीएफका लागि गोल गर्नु भयो ।
वाग्मतीका बिक्रम धिमाल म्यान अफ दी म्याच घोषित भई १० हजार रुपैयाँ पुरस्कार पाउनु भयो । खेल पछि प्रतिक्रिया दिँदै सशस्त्रका प्रशिक्षक सुदीप श्रेष्ठले खेलमा वाग्मती युवा क्लबको तुलनामा एपीएफका खेलाडी होचा भएकाले समस्या भएको बताउनु भयो ।
‘वाग्मतीमा विदेशी खेलाडी हुँदा हाई बलहरु सजिलै हामीले फुत्काउनु प¥यो’ उहाँले भन्नु भयो । कप्तान नविन लामालाई खेल्ने क्रममा चोट लागेपछि फिनिसिङमा पनि समस्या भएको प्रशिक्षक श्रेष्ठले बताउनु भयो ।
वाग्मती युवा क्लबका प्रशिक्षक सुनील श्रेष्ठले एउटा फ्रीकिक र कर्नरलाई खेलाडीले सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा आएको बताउनु भयो । उहाँले आगामी खेलमा केही खेलाडी परिवर्तन हुने संकेत गर्नु भयो । अब क्वार्टरफाइनलमा वाग्मतीले अफ्रिकन रुट्स एशोसिएसनसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी मोटरसाइकल पाउनेछ ।
।