Connect with us
Kapilvast Forest

नेपालको बिजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न भारत तयार

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

hawabata-bijuli_.jpg

काठमाडौं – नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि आफू सहजीकरण गर्न तयार रहेको भारतले जनाएको छ ।

केही दिन अगाडि ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सोमबार स्पष्टरुपमा नै नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताउनु भयो ।

नयाँ दिल्लीमा आयोजना गरिएको भारतको छिमेक नीतिसम्बन्धी एक कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो , ‘ऊर्जाको क्षेत्रीय व्यापार प्रबर्द्धनका लागि निर्यातसम्बन्धी केही कार्यविधि जारी गरेर छिमेकी मुलुकसँग ऊर्जाको आयात र निर्यातमा परिवर्तनकारी कदम चालिएको छ ।’

केही हप्ता अगाडि भारतले ऊर्जाको आयात र निर्यातसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । तर, सो कार्यविधिमा भारतसँग सिमाना जोडिएको कुनै तेस्रो मुलुकले लगानी गरेका परियोजनाको बिजुलीका लागि भने सो सुविधा नदिने उल्लेख छ । सो प्रावधानले चिनियाँ लगानीलाई भने असर गर्ने देखिन्छ ।

उहाँका अनुसार सो कार्यविधिले ऊर्जाको आयात र निर्यात गर्न बाटोमात्र नखोली ऊर्जा पारवहनमा भारतले सहजीकरण गर्नेछ ।

उहाँले भारतका छिमेकीहरुका लागि विद्युत व्यापारको विशाल बजार खुल्ला भएको समेत बताउनु भएको छ । श्रींगलाले भारतीय ग्रिड नेपाल, भुटान र बंगलादेशसँग जोडिएको पनि बताउनु भयो । उहाँले श्रीलंकासँग पनि ग्रिड कनेक्सनको लागि गृहकार्य भइरहेको समेत जानकारी दिनु भयो ।

नेपालको बिजुली बंगलादेश निर्यातका लागि भारतीय भूमि हुँदै जानुपर्छ । त्यसका लागि भारतले सहजीकरण गर्छ कि गर्दैन भन्नेमा नेपाल र बंगलादेश दुवै शशंकित छन् ।

ऊर्जाको उच्च माग भएको बंगलादेशले लामो समयदेखि भारतसँग सहजीकरणको लागि आग्रह गरिरहेको छ ।भारत र बंगलादेश बीचमा हुने हरेक उच्चस्तरीय बैठकमा सो विषयले प्राथमिकता पाउने गरेको छ ।

पछिल्लो समयमा भारतका उच्च अधिकारीहरुबाट बिजुली निर्यातका लागि पारवहन सुविधा दिने प्रतिवद्धता आएको छ । यद्यपि यससम्बन्धी विस्तृत गृहकार्य भने बाँकी नै छ । यसका लागि निकट भविष्यमा नै ३ देशका उच्च अधिकारीहरुको बैठकको तयारीसमेत भइरहेको छ ।

भारतीय विदेश सचिवले नेपालमा निर्माणाधीन केही जलविद्युत आयोजनाहरुको नामसमेत लिएका छन् । उहाँले ९०० मेगावटको कणाली जलविद्युत आयोजनाले उत्पादन गर्ने नेपालले भारत र बंगलादेशमा निर्यात गर्न सक्ने बताएका छन् ।

अहिले नेपाल र बंगलादेश दुवैले भारतबाट बिजुली किनिरहेका छन् । बंगलादेशले भारतबाट ११६० मेगावाट बिजुली किनिरहेको छ भने नेपालले अहिले ७०० मेगावाट बिजुली किनिरहेको छ ।

बिजुली निर्यातका लागि भारतले सहजीकरण गरेमा बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

केही वर्षयता नेपाल र बंगलादेश बीच डेडिकेटेड ट्रान्समिसन लाइन निर्माणको सम्बन्धमा कुराकानी भइरहेको छ । तर अहिलेको लागि भारतको सिलगुरी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu