प्रचण्डलाई जति सम्झाए पनि भएन :वामदेव
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको बताउनु भयो । एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकताको अवस्थामा रहने बताउनु भयो।
‘सर्वोच्चले ऋषिराम कट्टेलको मागलाई मात्रै सम्बोधन गरेर नाम मात्रै फेरेको भए नेकपा न एकता, न विभाजन हुन्थ्यो,’ गौतमले भन्नु भयो । तर, अदालतको फैसलाले एमाले र माओवादी ब्युँताइदिएर ऐतिहासिक फैसला गरेको उहाँले बताउनु भयो । गौतमले अदालतको २३ फागुनको फैसलालाई खुसी भएर स्वागत गरेको बताउनु भयो ।
गौतमले सम्बोधनका क्रममा ४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि सम्झिएँ । ‘पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा साक्षी थिएँ । त्यो बेला प्रधानमन्त्रीले दुईवटा प्रस्ताव गर्नुभयो । १९ बुँदे आरोपपत्र फिर्ता लिने र मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने,’ उहाँले भन्नु भयो । तर, प्रचण्डले नमानेको गौतमले ब्रिफिङ गर्नु भयो ।
प्रचण्डलाई आफूले पनि धेरै सम्झाउन खोजेको बताउनु भयो । ‘मैले धेरै सम्झाउन खोजें, उहाँले मान्नु भएन । मैले पार्टी एकता कुनै हालतमा जोगाउनुपर्छ भनें,’ उहाँले भन्नु भयो । संसद् विघटन गर्ने र अविश्वासको प्रस्तावबारे थाहा नपाएको पनि गौतमले बताउनु भयो ।
यदि, थाहा भएको भए धर्ना बस्ने पनि गौतमको भनाइ थियो । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि खुसीले नमात्तिएको र निराश पनि नभएको बताउनु भयो । तर, यसपछि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको बताउनु भयो । ‘मैले राजीनामा दिनुहोस् भने उहाँले दिनु भएन, तर पार्टी एक बनाउँछु भन्दा खुसी भएर अंकमाल गरेर फर्किएँ,’ गौतमले भन्नु भयो ।