Connect with us
Kapilvast Forest

कोरोना जोखिमः सीमामा थप कडाई गर्ने डिसीसीएमसीको निर्णय

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

भैरहवा– जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले भारतमा कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा शनिबार बसेको डिसीसीएमसीको बैठकले अहिले सीमामा आवागमन अब्यवस्थित भएको स्विकार गर्दै अब उप्रान्त यसलाई ब्यवस्थित गर्ने निर्णय गरेको हो ।

बेलहिया नाका हुँदै भारतबाट आउने नागरिकहरुलाई नाकामा स्थापना भएको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गरी उनीहरुको अभिलेख राखिने डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

यसरी स्वास्थ्य चेकजाँच गर्दा कोही शंकास्पद भए सीमामै उनीहरुको स्वाब लिई एन्टिजेन परीक्षण गर्ने ब्यवस्था रहेको उहाँले बताउनुभयो । परीक्षणबाट पोजेटिभ देखिए अस्पताल, आईसोलेसन वा होम आईसोलेसनमा राखिने ब्यवस्था समेत गर्ने निर्णय भएको घिमिरेले बताउनुभयो ।

डिसीसीएमसी बैठकले जिल्लामा रहेका सबै पालिकाहरुलाई क्वारेन्टाईन र आईसोलेसन केन्द्र पनि तयार पारेर राख्न निर्देशन दिएको छ । त्यस्तै बैठकले धेरै मानिस भिडभाड गरी गरिने भेलाहरु पनि रोक्ने निर्णय गरेको छ । हाल सञ्चालनमा रहेका हाटबजार, बिद्यालय लगायतका क्षेत्रहरुमा प्रभाव नपर्ने गरी अन्य सभा सम्मेलन र भिडभाडयुक्त कार्यक्रम नगर्न बैठकले अनुरोध गरेको छ ।

मेला, महोत्सव, भेला लगायत अन्य भिडभाडयुक्त कार्यक्रमले संक्रमणको जोखिम बढ्ने खतरा रहेको हुँदा यसलाई रोक्ने बैठकले निर्णय गरेको हो ।अहिले सञ्चालनमा रहेका सार्वजनिक यातायात, हाटबजार, बिद्यालय लगायतमा पनि कडाईका साथ स्वास्थ्य सम्बन्धी मापदण्ड पालन गर्न लगाउन बैठकले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

यस्ता भिडभाड हुने क्षेत्रहरुमा मास्क, सेनेटाईजर र सामाजिक दूरीको पालना गर्न डिसीसीएमसीले अनुरोध गरेको छ । डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका पालिकाहरुका प्रमुख तथा उप–प्रमुख, सुरक्षा निकायका प्रमुख, ब्यावसायिक संघ संस्था, होटल एशोसिएशनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

उनीहरुले अब बन्दाबन्दी गर्नै नहुने सुझाव दिएका थिए । भारतमा कोभिड संक्रमण फैलिदै गएपछि सीमामा सतर्कता अपनाउँदै यहाँका आर्थिक क्रियाकलाप सञ्चालन हुनु पर्ने सुझाव राखेपछि डिसीसीएमसीले सोही अनुसारको निर्णय गरेको छ ।

तत्काल जिल्लामा कुनै अप्रिय घटना नभएकोले अहिले सतर्कता बढाउने र यसमा सबैले उत्तिकै पहल गर्नु पर्ने बैठकले निर्णय गरेको छ । सीमा पारी अहिले बजार गर्न जानेको संख्या उत्तिकै रहेको हुँदा यसलाई पूर्णरुपमा रोक्न बैठकले सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।

यस्तै सीमापारीबाट नेपालमा औषधि, घर फर्किने नेपाली लगायतलाई अभिलेख राखी सहज प्रवेश दिइने भएको छ भने नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई पूर्णरुपमा डिसीसीएमसीको बैठकले रोक लगाएको छ । सीमामा हेल्थ डेस्क राखी एन्टीजेन परीक्षण सुरु गरिएको पहिलो दिन नै शुक्रबार भारतबाट नेपालमा काम गर्न आउँदै गरेका एक जना कामदारलाई कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको उद्योगमा काम गर्न आईरहेका भारत राजस्थान बस्ने एक जना पुरुषलाई पोजेटिभ देखिएको हो ।स्वाबको माध्यमबाट परीक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको उहाँको भनाइ छ ।

आधा घण्टामै नतिजा आउने यो परीक्षणबाट पोजेटिभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आईसोलेसनमा राख्ने गरी जिम्मा दिइने उहाँले बताउनुभयो ।

गोरखापत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu