Connect with us
Kapilvast Forest

मिथिलामा होलीको रौनक

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा र जनकपुर अन्तरगृह परिक्रमा आज बिहान सकेर होलिका दहनको धुरा (खरानी) उडाएसँगै आज मिथिलामा होली (फागु) पर्वको तयारी उत्कर्षमा देखिएको हो ।

मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी प्रवृत्तिकी होलिकाको प्रतिमा दहन गरेर पूर्णिमाका दिन त्यसको धुरा (खरानीको धुलो) उडाइएपछि भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । मैथिल जनजिब्रोले ‘फगुवा’ पनि भन्ने गरिएको होली पर्व गए राति होलिका दहन भएर आज धुरा उडाइएसँगै अब भोलि सोमबार मनाउने तयारीमा सिङ्गै मिथिला क्षेत्र लागेको छ ।

आपसी सद्भाव, राक्षसी (तामसी) प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व रङ, अबिरको पर्व मानिन्छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाई विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने मिथिला परम्परा छ ।

पर्वको तयारी क्रममा मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर बस्तीमा रङ अबिरको खरिद बिक्री बढेसँगै होली गीतका स्वर गुञ्जदै छन् । फागुन पूर्णिमाको भोलिपल्ट रङ अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होलीपर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको छ ।

यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन् । अघि त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी ९श्रीराम० र जनक नन्दिनी किशोरीजी (सीताजी) ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होलीपर्व शुरु भएको मानिने एउटा मत रहेको छ । यद्यपि होलीपर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको श्रीमद् भागवत कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नास भएको खुशीयालीमा यो पर्व परम्परा शुुरु भएको मिथिला परम्पराका ज्ञाता महोत्तरीकै जलेश्वरका बासिन्दा प्राध्यापक ताराकान्त झा बताउनुहुन्छ । यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढाएका झाको भनाइ छ ।

फागु पर्वको बढ्दो रमझमसँगै महोत्तरी जिल्लाका बजारमा विभिन्न रङका अबिरको माग बढेको व्यापारीले बताएका छन् । पर्वको भोजनमा मासुको प्रयोग आमरूपमा हुने भएकाले खसी बोका र कुखुरासँगै शाकाहारीले खाने मिष्ठान्न परिकारका सामानको जोहोमा सबैजसो परिवारको व्यस्तता बढेको छ ।

यसपालि होलीपर्वकै मुखमा छिमेकको भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेसँगै त्यसको प्रभाव मुलुकभित्र देखिन थालेपछि सतर्कता अपनाउन सरकारले अपिल गरिरहेको छ । नियन्त्रण हुनै लागेको कोरोना फेरि लापरवाहीले बढ्नसक्ने अवस्था मध्यनजर गर्दै महोत्तरी जिल्ला प्रशासनले सार्वजनिकरूपमा होली समारोह आयोजना नगर्न, भीडभाड नगर्न र आफ्नै घरपरिवारभित्र रहेर पर्व मनाउन सर्वसाधारणसँग अपिल गर्दै आएको छ ।-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu