बुटवलदेखि अत्तरियासम्मका उद्योगमा जानकारी दिएर विद्युत् कटौती
काठमाडौं-एक सातादेखि बुटवलदेखि अत्तरियासम्मको औद्योगिक करिडोरका उद्योगहरुमा बिजुली कटौती बढेको छ । भारतको टनकपुरबाट आयात हुने बिजुली प्रभावित भएपछि उद्योगहरुमा विद्युत् कटौती बढेको हो ।
विद्युत् प्राधिकरणका अनुसार टनकपुर क्षेत्रबाट भारतले १२० केभीए लाइनको नयाँ तार तान्ने काम गरिरहेकाले नेपालतर्फको आयात प्रभावित भएको हो । यही काममा सहजीकारण लागि गत चैत १४ गतेदेखि एक हप्ताका लागि विद्युत आपूर्ति प्रभावित हुने भन्दै सूचना नै निकालिएको प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताउनुभयो ।
‘हामीले उद्योगहरुमा जाने विद्युत् आपूर्तिमा समस्या आउने भनेर पूर्वजानकारी नै दिएका थियौं,’ उहाँले दावी गर्दै भन्नुभयो , ‘शुक्रबारबाट आपूर्तिमा समस्या आउँदैन ।’उद्योगीहरु भने यो हप्ताबाट समस्या बढेपनि विगतबाटै उद्योगमा आपूर्ति हुने बिजुलीको गुाणस्तर कमजोर रहेको गुनासो गर्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका प्राधिकरणले उद्योगलाई बिजुली दिने प्रसारणलाइन र सबस्टेसनको क्षमता नबढाउँदा भोल्टेज ‘अप–डाउन’ हुने समस्या कायमै रहेको बताउँछन् ।
‘३३ केभीको लाइनबाट कहिले २२ त कहिले ३६ केभी लाइन आउँछ, यसले उद्योग फोर्स सटडाउन गर्नुपर्दा उत्पादनमा २० प्रतिशतसम्म गिरावट आएकोछ, त्यति नै मात्रामा हानी पनि हुँदैछ,’ उनी भन्छन्, ‘एक मिनेट बन्द भएपनि फेरि प्लान्ट तताउन समय लाग्छ, लाइन आउने–जाने हुँदा यन्त्र उपकरणहरु पनि बिग्रिन्छन् ।’
मुरारकाले भारतबाट आउने बिजुलीमा यस्तो समस्या बढी हुने गरेको भन्दै पटक–पटक विश्वसनीय आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेपनि काम हुन नसकेको बताउनुभयो ।
पछिल्ला दिनमा फोन गरेरै केही घण्टा उद्योग बन्द गरिरिदन प्राधिकरणले आग्रह गरिरहेको भन्दै उहाँले लाइन आएका समयमा पनि विद्युत्को फ्रिक्वेन्सीमा आउने उतार–चढावले उद्योगी हरान हुनुपरेको बताउनुभयो ।