कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ
न्युज सेन्टर नेपाल- कपिलवस्तु कार्तिक २१–
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बनकसियास्थित एक क्रेशर उद्योगभित्र जुवा खेलिरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी टोलीले छापा मारेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ । जनप्रिय बालुवा प्रशोधन उद्योगको एक कोठाभित्र रातको समयमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त उद्योगभित्र जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले गएराति करिब ११ः३० बजे छापा मारेको थियो ।
छापाका क्रममा तास खेलिरहेका ११ जना पक्राउ परेका हुन् । तर, तास खेलाउने भनिएका उद्योग सञ्चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले २ लाख २० हजार ६९० रुपैयाँ नगद बरामद गरेको छ । त्यसैगरी ६ बुक तास, १२ थान टच मोबाइल र ३ थान किप्याड मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–६ बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा–२ पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका–९ कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा–५ कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा–६ भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल, बाणगंगा–८ बोडगाउँका २२ वर्षीय अमित आचार्य, बाणगंगा–८ धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा–११ हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका–९ कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा–८ बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा–६ भक्लापुरका २८ वर्षीय राजेश घर्ती रहेका छन् ।
प्रहरी कार्यालय नजिकै जुवाको अखडा, स्थानीयले उठाए प्रश्न ।।
यस घटनाले स्थानीय प्रहरीको नियमित निगरानी र गस्तीमाथि समेत प्रश्न उठाएको छ ।
स्थानीयका अनुसार जुवा खेलिएको उक्त स्थान इलाका प्रहरी कार्यालय पिपराबाट नजिकै रहेको छ । प्रहरी कार्यालय नजिकै लामो समयदेखि जुवा खेल्ने गतिविधि भइरहेको भए पनि स्थानीय प्रहरीबाट कारबाही नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थानीयले इलाका प्रहरी कार्यालय पिपराले कारबाही नगरेको भन्दै अन्य प्रहरी टोलीलाई खबर गरेपछि छापा मारेर जुवाडेहरू पक्राउ परेको दाबी गरेका छन् ।
प्रहरी कार्यालय नजिकै क्रेशर उद्योगको कोठाभित्र जुवा खेल्ने गतिविधि सञ्चालन हुनु र सञ्चालक नै फरार रहनुले यस घटनालाई थप चासोको विषय बनाएको छ । उक्त गतिविधिबारे स्थानीय प्रहरीलाई पूर्वजानकारी थियो वा थिएन भन्ने विषयमा समेत प्रश्न उठेको छ ।