एएफसी कपमा आधा दर्शकले मात्र प्रवेश पाउने
काठमाडौँ — एएफसी कप २०२१ को दक्षिण एसियाली क्षेत्रअन्तर्गत नेपालको त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिस स्पोर्ट्स क्लबबीच दशरथ रंगशालामा हुने खेलमा क्षमताको आधा दर्शकले मात्र प्रवेश पाउनेछन् । खेल बुधबार हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै खेलका क्रममा सबैखाले स्वास्थ्य मापदण्ड पालन गरिने जनाएको छ । एकै लेगमा मात्र हुने यो खेलको विजेताले अर्को चरणमा भारतको बेंगलुरु एफसीसँग खेल्नेछ ।
आर्मीले पनि शुक्रबार नै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि आफ्नो तयारी पूरा भएको जनाएको छ । टिमको प्रशिक्षकमा नवीन न्यौपाने छन् । यस खेलका लागि भनेर आर्मीले २० लाख रुपैयाँ तयारीमा खर्च गर्नेछ ।खेल चैत २५ गते साँझ ५ बजे फ्लडलाइटमा हुनेछ ।