Connect with us
Kapilvast Forest

सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका शपथ ग्रहण हुँदै

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं– सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रवार (आज) बेलुका ५ बजे फेरि शपथ ग्रहण गर्ने तयारी छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा उहाँहरूको शपथका लागि तयारी गरिएको छ । उहाँहरूले यसअघिकै मन्त्रालय पाउनुभएको छ । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ ।

सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।

गएकाे मङ्गलवार माओवादी केन्द्रले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टी र सांसदबाट हटाएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएकाे थियाे ।

पार्टीको निर्देशन नमानेको, नेतृत्वविरुद्ध लागेको, एमालेमा प्रवेश गरेको लगायतका विषयमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको र पार्टीको सम्पर्कमा नआएको भन्दै चार जनालाई हटाइएको माओवादी केन्द्रले जनाएको थियाे ।

बिहीवार नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको थियाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj