Connect with us
Kapilvast Forest

धार्चे गाउँपालिकाका गोठालाहरुलाई रेडियो वितरण

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

गोरखा – गोरखाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई रेडियो बाँडेको छ । गाउँभन्दा टाढा रहेको गोठमा बस्ने गोठालाहरुले आवश्यक सूचना प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

२० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गर्मीयामभरि गोठालाहरु गाईवस्तुसहित उच्च पहाडी भेगका खर्कमा रहेका गोठमा बस्ने गर्दछन् । त्यस क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय नै पशुपालन हो । मौसमी अनुकुलता मिलाउनका वस्तुभाऊलाई हिउँदयाममा बेसींमा राख्ने गरिन्छ भने गर्मी बढ्दै जान थालेपछि लेकतिर सार्ने गरिन्छ ।

धार्चे गाउँपालिकाको लापु, गुम्दा, लाप्राक, लप्सीबोट, यमगाउँ लगायतका क्षेत्रमा गोठ समितिको निर्णयअनुसार मात्र गोठ सार्ने चलन छ  । धार्चे क्षेत्रमा मात्रै तीन सय भन्दा बढी घुम्ती गोठ रहेको स्थानीय बासिन्दा जीते गुरुङले बताउनुभयो ।

त्यस क्षेत्रका बासिन्दाले गाई गोरु, भेडा, च्याङ्ग्रा र खसीबोका पाल्ने गरेका छन् । खर्कमा भएका बेला उत्पादित दुधजन्य परिकार बेसीं झर्दा आफन्तजनलाई बाँड्ने चलन पनि रहेको छ । गाउँमा रहेकाले भने रक्सी, भटमास र कोदोका परिकार बनाएर गोठमा बस्ने आफन्त र छिमेकीलाई दिने गर्दछन् । व्यावसायिक बन्न नसके पनि धार्चे र चुमनुब्री क्षेत्रमा पुस्तौंदेखि गोठ संस्कृति कायम रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

आफ्नो थातथलो छोडेर गोठमै रमाउनेहरुको जीवनयापनमा सहजीकरणका लागि पालिकाले रेडियो वितरणसँगै विभिन्न योजना बनाएको उहाँको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu