कर्णालीमा चरम अराजकता भयो : प्रदीप ज्ञवाली
काठमाडौं-कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि नेकपा एमालेको ओली समूह क्रुद्ध बनेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका सांसदहरूले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरे पनि नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो।
परराष्ट्र मन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा फ्लोर क्रस हुनुलाई अराजकताको संज्ञा दिनु भएको छ ।
फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिए पछि ज्ञवालीले यो अराजकता क्षम्य नहुने बताउनु भयो ।
कर्णालीमा आज अराजकता देखिएको छ। एमाले पार्टीभित्र यो अराजकता क्षम्य हुँदैन,’ ज्ञवालीले भन्नु भयो ।फ्लोर क्रस गर्ने सांसदहरूलाई के कारबाही हुन्छ भन्नेचाहिँ उहाँले खुलाउनु भएन ।
शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनु भएको हो ।मतदानमा सहभागी भएकामध्ये २२ जनाले उनको पक्ष र १५ जनाले विपक्षमा मत हालेका थिए।