Connect with us
Kapilvast Forest

३० जिल्लामा लगाइयाे निषेधाज्ञा

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज रातिदेखि जिल्लाका केही ठाउँमा निषेध आदेश जारी गरेको छ।

गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ। मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा जारी गरिएको कास्की र सुनसरी जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।

मकवानपुरमा आइतबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

यस क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन। अत्यावश्यक उपभोग्य वस्तु बिहान ५ बजेदेखि ९ बजेसम्म खरिद बिक्री गर्न पाइनेछ। हेटौंडा उपमहानगरपालिका क्षेत्रमा होटलदेखि चिया पसलसम्म र हेटौंडा उपमहानगरपालिका –१० बसपार्कमा रहेका सबै व्यवसाय भने शनिबारदेखि नै बन्द छन्।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ।

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।

विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ। विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ।

उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन चल्न पाउने छैन।

सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ। विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्ने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu