Connect with us
Kapilvast Forest

पुनः शपथ लिनु पहिले नै अल्पमतमा मुख्यमन्त्री पोखरेल

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौँ — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा दोस्रोपटक नियुक्त भएका शंकर पोखरेल शपथ नलिँदै अल्पमतमा पर्नु भएको छ । आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । अपराह्न ५ बजेका लागि शपथ तय भएको थियो । तर, एमालेभित्रको आन्तरिक विवाद र तत्कालीन नेकपाबाट निर्वाचित सांसदले माओवादी केन्द्रमा जाने निर्णय लिँदा पोखरेले अप्ठ्यारोमा पर्नु भएको हो ।

लुम्बिनी प्रदेशको शक्ति संघर्षमा आइतबार बिहानै नाटकीय रूपमा मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिनु भएको हो । उहाँविरुद्ध आएको अविश्वासको प्रस्तावमा प्रदेश सभाको विशेष अधिवेशनमा दिँउसो छलफल हुने कार्यसूची रहेको थियो । तर, उक्त छलफल पहिल्यै पोखरेलले राजीनामा दिने निर्णय लिनु भएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्यमन्त्रीबाट दिएको राजीनामासँगै पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्यको सिफारिसपत्र पनि बुझाउनु भएको थियो । आफूविरुद्ध अविश्वास प्रस्ताव आउने चाल पाएपछि गत चैत २३ गते मुख्यमन्त्री पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गर्नु भएको थियो । विपक्षी माओवादी केन्द्र, कांग्रेस र जसपाले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि विशेष अधिवशेनका लागि समावेदन हालेका थिए ।

विपक्षीको समावेदनअनुसार आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन बस्नै नदिई मुख्यमन्त्री पोखरेलले अन्त्यको सिफारिस गरेका हुन् । उक्त सिफारिस पनि प्रदेश प्रमुखले स्वीकार गर्दै अधिवेशन अन्त्यको सूचना जारी गरे । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार दिउँसो १२ बजे नै अन्त्य भइसकेको छ ।

एकातर्फ आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा छलफल हुनबाट राजीनामाको अस्त्रले टारेका मुख्यमन्त्री पोखरेलले अर्कोतर्फ नेकपा (एमाले)को एकल बहुमतको सरकार बनाउने दावी प्रदेश प्रमुख समक्ष गरेका थिए ।

पोखरेलको दावीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकार गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त गरिदिनु भएको हो । पोखरेल संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त भएको पत्र प्रदेश प्रमुखको कार्यालयले जारी गरेको थियो । प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ, संविधानको उक्त धारामा लेखिएको छ ।

प्रदेश सभाका जो सदस्यको आडमा मुख्यमन्त्री पोखरेलले एमाले मात्रैको बहुमतको प्रदेश सरकार बनाउने दावी गर्नु भएको थियो उहाँहरूमध्ये एकजनाले राजीनामा दिनु भएको छ , एक सदस्यले अर्कै पार्टी रोज्नु भएको छ भने दुई सदस्यले उहाँको विरुद्धमा आएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नु भएको छ ।

यस्तो अवस्थामा एकल बहुमतको मुख्यमन्त्री बन्न खोजेका पोखरेल शपथ ग्रहण गर्नुपूर्व नै अल्पमतमा पर्नु भएको छ ।

दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र (ख)बाट उपनिर्वाचनमा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोज्नु भएको हो । उहाँ एमाले र माओवादी एकतापछि बनेको नेकपाबाट निर्वाचित हुनुभएको हो । उहाँले फागुन २३ गतेको सर्वोच्चको फैसलाअनुसार ब्युँतिएका एमाले र माओवादीमध्ये आफूलाई माओवादीमा जान सहज भएको बताउननु भएको छ । २०७४ सालको निर्वाचनमा उहाँका श्रीमान उत्तरकुमार वली एमालेबाट निर्वाचित हुनु भएको थियो । उनको सवारी दुर्घटनामा मृत्यु भएपछिको उपनिर्वाचनबाट विमला निर्वाचित हुनु भएको हो ।

त्यस्तै, एमालेका सांसद दृगनारायण पाण्डेले पदबाट राजीनामा बुझाउनु भएको छ । सभामुख पूर्णबहादुर घर्तीसमक्ष आइतबार दिउँसो नै पाण्डेले राजीनामा गरेको पत्र पुगेको थियो ।

एमालेको सूर्य चुनाव चिह्न लिएर प्रदेश सभामा निर्वाचित भएका अजय शाही र धर्मलाल श्रीवास्तवले भने विपक्षी गठबन्धन रोज्नु भएको छ । उहाँहरूले माओवादी र कांग्रेस गठनबन्धनका मुख्यमन्त्रीका उम्मेदवार कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गर्नु भएको छ । केसीको अगुवाइमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आएको थियो ।

आइतबार नै केसी सहितका प्रदेश सभाका ४२ सांसद हस्ताक्षरसहितको निवेदन लिएर मुख्यमन्त्रीमा पुनः पोखरेललाई शपथ नगराउन भन्दै प्रदेश प्रमुखको कार्यकक्षमा धर्ना दिन पुग्नु भएको थियो ।

लुम्बिनी प्रदेश सभामा ४१ सांसद रहेको एमालेको संख्या ४ जना घटेसँगै ३७ मा झरेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभाबाट जसपाका ४ र माओवादीका २ सदस्य निष्कासित भएसँगै त्यो संख्या ८१ कायम भएको छ । सरकार गठनका लागि कायम सदस्य संख्याको बहुमत आवश्यक पर्छ । त्यो भनेको ४१ हो । तर, मुख्यमन्त्री पोखरेलको साथममा अब ३७ सांसद मात्रै रहेको देखिन्छ । लुम्बिनी प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित १९ जना, कांग्रेसका १९ जना र जसपाका २ सदस्य रहेका छन् भने राष्ट्रिय जनमोर्चाका एक सदस्य रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu