माओवादीले फिर्ता लियो समर्थन, ओली सरकार अल्पमतमा
काठमाडौं नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाउनुभएको हो ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
बुधबार समर्थन फिर्ताको पत्र बुझाएपछि माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले पत्रकारहरुसँग भने, ‘प्रधानमन्त्रीले संविधान विपरीत कदमहरु चाल्दै गैरहनुभएको छ । उहाँकै सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं ।’
अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ ।
माओवादीका प्रमुख सचेतक गुरुङले नियमित अधिवेशन बोलाउनु पर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु पनि त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिए । यसो गर्नु संविधान विपरीत रहेको जिकीर उनले गरे ।
नियमित अधिवेशन बोलाएर विधेयक ल्याउन सकिनेमा सरकारले त्यसो नगरी विभिन्न ७ वटा अध्यादेश जारी गरेको भन्दै उहाँले विरोध पनि गर्नु भयो ।
हेर्नुहोस् समर्थन फिर्ताको पत्र
