प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख नजाने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाउनु भएको हो ।
तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नु भएको थियो । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा भने नजानुहुने भएको छ । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानुभएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भन्नु भयो ।