उपचार नपाएर एक कोरोना संक्रमितको मृत्यु
महोत्तरी-महोत्तरीमा एक कोरोना संक्रमितको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । स्थानीय जलेश्वर अस्पतालमा रहेको भेन्टिलेटर संचालनमा नरहेको र समयमै उपचारबाट बञ्चित हुँदा बिरामीको मृत्यु भएको आफन्तको गुनासो छ ।
महोत्तरी गाउँपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षिय पुरुष भएको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेयले बताउनुभयो ।
बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई जलेश्वर अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन सहित उपचार गराइएको थियो । शुक्रबार उहाँमा कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको थियो ।
गएराति उपचारमा संलग्न रहेका डाक्टरले थप उपचारका लागि भेन्टिलेटरमा राख्नु पर्ने परिवारजनलाई जनकारी दिनुभएको थियो । मृतकका परिवारजनले एम्बुलेन्स खोज्दा खोज्दै रातिको साढे १० बजे तिर व्यवस्था भएपछि उपचारका लागि जनकपुर लाग्दै गर्दा बाटोमा संक्रमितको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष पाण्डेयले बताउनुभयो ।
अस्पतालमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स नहुँदा समस्या भएको हो । अक्सिजन सहितको १५ शैय्याको अस्थायी कोभिड अस्पताल एक साता अघिदेखि संचालनमा ल्याइएको थियो ।
गत आर्थिक बर्ष जलेश्वर अस्पतालले २ करोड रुपैयाँमा ५ वटा भेन्टिलेटर खरिद गरेपनि जनशक्ति नहुँदा भेन्टिलेटर संचालनमा आउन सकेको छैन ।