अमेरीकामा गोली काण्ड: एक नेपाली पत्रकारको मृत्यु,अर्का नेपाली घाइते
एजेन्सी-बाल्टिमोरको उडलनमा भएको गोलीकाण्डमा परि २५ वर्षीय एक नेपाली युवाको मृत्यु भएको छ । उहाँसँगै अर्का एक नेपाली युवा श्याम अधिकारीलाई पनि गोली लागेको छ । सो घटनामा परि चारजनाको दुखद निधन भएको छ ।
मृतक संखुवासभा, खाँदबारीका सागर घिमिरे भएको पुष्टि भएको छ । घिमिरे एक हप्ता अघिमात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सर्नुभएको थियो । बाल्टिमोर नेपाली कम्युनिटीका अध्यक्ष सुवोध पन्तका अनुसार, सर्लाहीका घाइते अधिकारी हाल खतरामुक्त छन् । उहाँको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
वाल्टिमोरस्थित समाचारपत्रहरुका अनुसार, मानसिक असन्तुलन भएका ५६ वर्षीय इभर्टन व्राउनले आफ्नो घरमा आगजनी र गोली चलाएका थिए । उक्त आगो टाउनहाउसका अरु तीन घरमा पनि सल्केको थियो ।
त्यसमध्ये दुइटा घर ध्वस्त छन् भने अर्को घर आधाभन्दा बढी जलेर नष्ट भएको छ । जलेका तीनमध्ये एउटा घर दुर्गा नेउपानेको थियो । मृतक र घाइते दुवै युवा सोही घरमा भर्खर सर्नु भएको थियो ।
इभर्टनले आगजनी गरेपछि बन्दुकसहित बाहिर निस्केर कसैलाई पनि घरबाट बाहिर ननिस्कन उर्दी गरेका थिए । दुर्गा नेउपानेको परिवार र अरु छरछिमेकका मानिसहरु भागेका कारण ज्यान बचेको थियो ।घटनास्थलमा पुगेको प्रहरीले इभर्टनमाथि गोली चलाएको र उहाँको पनि घटनास्थलमा नै मृत्यु भएको थियो ।
(खनाल अमेरिकामा कार्यरत नेपाली पत्रकार तथा पूर्व गोरखापत्रकर्मी हुनुहुन्छ)