Connect with us
Kapilvast Forest

चिन्ता कम गर्ने उद्देश्यले अनलाइनबाटै मनोपरामर्श

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

 

काठमाडौँ- कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले धेरैलाई तनाव दिएको छ । एकातिर औषधि र अस्पतालमा श-या अभाव छ भने अर्काेतिर दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहेका समाचारले चिन्ता थपिदिएको छ । समाजमा देखिएको यो समस्यालाई कम गर्ने उद्देश्यले केही मनोचिकित्सकले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ अनलाइनबाट परामर्श दिन सुरु गरेका छन् ।

‘ह्याप्पी माइन्डस् डट हेल्थ’का प्रबन्ध निर्देशक श्रेया गिरीले भन्नुभयो, “कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ । नेपालमा पनि यो समस्या छ । यही समस्या निराकरण गर्ने उद्देश्यले मनोचिकित्सकको समूह बनाएर सेवा दिन सुरु गरेका हौँ ।” गोपनीयता कायम गरेर विशेषज्ञको टोलीले परामर्श दिने गरेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप सुरु भएपछि आफूमा पनि मानसिक स्वास्थ्य समस्या देखिएकाले अरू मानिस यस्तो अवस्थाबाट गुज्रिन नपरोस् भनेर परामर्श दिने अवधारणा ल्याएको उहाँले स्पष्ट पार्नुभयो । यो अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने बताइएको छ ।

मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइन्डस् डट हेल्थमा नेपाल, अमेरिका र अस्ट्रेलियामा काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ आबद्ध छन् । डा. शाक्यले कोभिड–१९ महामारीका बेला मानिसमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउँदै रोजगारदातालाई आफ्ना कर्मचारी र शैक्षिक संस्थालाई आफ्ना विद्यार्थीको मानसिक स्वास्थ्यको ध्यान दिन आग्रह गर्नुभयो ।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा देह त्यागका घटना पनि बढ्दै गएको बताउँदै उहाँले आफ्ना परिवारका सदस्य तथा साथीमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरूबाट परामर्श लिन आग्रह गर्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यले कोरोना सङ्क्रमणका कारण मानसिक रोग बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो । पहिलेदेखि मानसिक रोग भएकामा कोरोना महामारीका बेला समस्या झन् गम्भीर हुन्छ । ”

मानसिक स्थितिलाई बलियो बनाउनुका साथै आफूले सुरक्षित हुने विधि अपनाए यो रोग लाग्ने सम्भावना न्यून हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “चिन्ताले रोगसँग लड्न सक्ने क्षमता कम गर्ने भएको कारण चिन्ता लिनुहुँदैन, नयाँ कुराको अनावश्यक तनाव लिन हुँदैन । ”

“कुनै पनि वस्तु छोएमा कोरोना सङ्क्रमण हुने होइन, यो सबैले बुझ्नुपर्छ, सङ्क्रमित व्यक्तिले छोएमा सर्ने हो तर अहिले जुन वस्तुमा पनि सङ्क्रमण भएको जस्तो व्यवहार गरिरहेको अवस्था छ, त्यो गलत हो । हात धुनुपर्छ, सरसफाइमा ध्यान दिनु राम्रो हो । सतर्क र सजग हुनुपर्छ, हल्ला र भ्रमको पछाडि लाग्दा मानसिक पीडा हुन्छ”, डा. शाक्यको धारणा छ ।

कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिन्छ भने आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने मनोविश्लेषक वासु आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउँदैन, हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो, तसर्थ अधिकतम समय घरमै बसाँैं, सकभर अस्पताल, क्लिनिक नजाऔँ । ”

चिन्ता कम गर्ने उपाय
हाल कोरोनाका कारण नकारात्मक समाचार बढेको, सङ्क्रमितको सङ्ख्या बढेको, औषधि, अक्सिजन, अस्पतालमा शøयाको अभाव र मृत्युका समाचारले झन् मानसिक समस्या बढाउने उहाँले बताउनुभयो ।

समाचार पढे पनि आधिकारिक समाचार मात्र पढ्ने सुझाव दिँदै गलत समाचार र हल्ला फैलाउने खालका समाचारलाई बेवास्ता गर्नुुपर्ने सुझाव उहाँले दिनुभयो । “साथीभाइसँग गफ गर्ने, परिवारसँगरमाइलो गर्ने, योग, ध्यान, नृत्य, सङ्गीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्छ”, उहाँले भन्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu