नेपाल पक्षको निर्णयपछि तत्काललाई टर्यो बहुमतको सरकार बन्ने सम्भावना
काठमाडौं-माधव नेपाल पक्षको पछिल्लो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनलगत्तै बहुमतको सरकार बन्ने सम्भावना तत्काललाई टरेको छ।
नेपाल पक्षका सांसदहरू सोमबार बिहान सिंहदरबारमा भएको भेलाले तत्काल राजीनामा नदिने तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नदिने निर्णय भएको छ । सो भेलाले विश्वासको मतबारे संसदमा आज हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ।
यसअघि नै जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने र विवेकको मत प्रयोग गर्न दिने निर्णय गरेको छ। नेपाल पक्ष र जसपाको निर्णयले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना सकिएको छ।
विश्वासको मत नपाएपछि उहाँ आजै पदमुक्त हुनुहुने छ । तर सँगसँगै नेपाल पक्षको निर्णयले प्रधानमन्त्री ओलीको बहिर्गमनपछि बहुमतको सरकार बन्ने सम्भावना पनि तत्काललाई सकिएको छ। प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आह्वान गर्ने सम्भावना छ।
अब बहुमतको सरकार बनाउन दलहरूलाई १३६ जना सांसद आवश्यक पर्नेछ। संसदमा अहिले २७१ सांसद संख्या कायम छ।संसदको चौथो ठूलो दल जसपाभित्र कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने विषयमा मतभेद छ। जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतत्वको पूर्व समाजवादी पार्टी पक्ष कांग्रेस माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा छ भने पूर्वराजपा पक्ष नयाँ सरकार बनाउन नहुने, केपी ओलीकै नेतृत्वमा निर्वाचनमा जानु पर्ने पक्षमा छ। जसपा एक नहुनेबित्तिकै तीन दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना रहँदैन। संसदका कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुखबाहेक) र जसपाका ३२ ९पूर्वसमाजवादीका १६ र पूर्वराजपाका १६० सांसद छन्।
माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिएपछि कांग्रेस, माओवादी र जसपामा बाबुराम र उपेन्द्रको समूह मिलेर सरकार बनाउने तयारी गरेका थिए। नेपाल पक्षका २० जनाले राजीनामा दिएको भए संसदमा २५१ सांसद कायम रहन्थे र सरकार बनाउन १२६ सांसद भए पुग्ने थियो।
अब फेरि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बन्न कि त माधव नेपाल पक्षले राजीनामा दिनु पर्यो वा प्रधानमन्त्री ओलीले उनीहरूलाई एमाले संसदीय दलको ह्वीप उल्लंघन गरेको सजायस्वरूप सांसद पद खोस्नु पर्यो।
एमालेको ह्वीप उल्लंघन गरेर आफूलाई विश्वासको मत नदिएबापत् प्रधानमन्त्री ओलीले सिद्धान्ततस् नेपाल पक्ष सांसदलाई कारबाही गर्न सक्छ। उनले कारबाहीअगाडि बढाए उनीहरूको सांसद पद खारेज हुन्छ।
प्रधानमन्त्री ओलीले नेपाल पक्षका सांसदहरूलाई तत्काल कारबाही गर्ने सम्भावना छैन। उहाँले कारबाही गरे भने वैकल्पिक सरकार बन्ने अवस्था सिर्जना हुन्छ। नेपाल पक्षले पनि तत्काल राजीनामा दिने छैन। अब केही दिन ओली र नेपाल पक्षबीच फेरि छलफल र वार्ता चल्नेछ। प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै सँगै बसेर छलफल गर्न नेपाल पक्षलाई आह्वान गर्नुृ भएको छ ।
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको प्रधानमन्त्री ओलीले आज विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन केही दिनको समय दिएर आह्वान गर्नु हुने छ ।
त्यो समयभित्र पनि माधव नेपाल पक्षले राजीनामा दिएन भने बहुमतको सरकार बन्ने सम्भावना टर्नेछ। र राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो पार्टीका हैसियतले केपी शर्मा ओलीलाई नै अल्पमतको सरकार बनाउन आमन्त्रण गर्नेछन्।
अल्पमतको सरकारले पनि तीस दिनभित्र विश्वासको मत लिनु पर्नेछ। विश्वासको मत पाए उहाँले सरकार चलाउनुहुने छ नपाए फेरि पदमुक्त हुनुहुने छ ।त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत प्राप्त गर्ने सम्भावना भएको कुनै पनि व्यक्तिलाई सरकार बनाउन आह्वान गर्नु हुने छ । त्यो सरकारले पनि तीस दिनभित्र विश्वासको मत पाए सरकार चलाउने छ नत्र मुलुकलाई निर्वाचनमा लैजान्छ।