गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण
पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिनु भएको छ । उहाँलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गर्नु भएको थियो ।
बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गर्नु भएको थियो । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो ।अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
