माधव पक्षले धोका दियो भन्न मिल्दैन : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताउनुभएको छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाउन शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा आएका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अहिले नै धोका दिएको भन्न हतार हुने प्रतिक्रिया दिनुभएको हो । ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या पक्कै भए होलान्’ उहाँले भन्नुभयो , ‘उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ ।’
विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए पनि विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले बहुमतको सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओली नै प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
एमालेको माधव नेपाल पक्षले आफूहरु राजीनामा दिएर बहुमतको सरकार बनाउन सहज बनाइदिने आश्वासन दिएको कांग्रेस र माओवादीका कतिपय नेताले बताउनुभएको छ । तर अन्तिम समयमा राजीनामा नदिएपछि बहुमतको सरकार बन्ने सम्भावना टरेको थियो ।