‘मदन-आश्रितको नाममा पार्टीभित्र विसर्जनपन्थ हावी हुन खोज्दैछ:गौतम
काठमाडौं – नेकपा एमालेका नेता वामदेव गौतमले मदन भण्डारी र जीवराज आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताउनु भयो ।
नेता गौतमले २८औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन र आश्रितले देखाएका बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त भई सहकार्यको दिशामा अग्रसर हुनु भए पनि आज उनीहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गर्नु भएको छ ।
‘क मदन र क। आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो,’ गौतमले भन्नु भएको छ , ‘तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ।’
गौतमले मदन–आश्रितले देखाएका मार्गदर्शनलाई सार्थक बनाउन पार्टीका सबै तहका नेता, कार्यकर्तामा नेकपा (एमाले)सहित बृहत् वाम एकता निर्माण गर्नु नै रहेको बताउनु भएको छ। जसका लागि पार्टीका जिम्मेवार व्यक्तिहरु आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार मुक्त हुन आग्रहसमेत गर्नु भएको छ ।
उहाँले आफू मदन–आश्रितले निर्माण गरेका समाजवादको बाटो पछ्याउँदै हिँडिरहेको र उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प समेत गर्नु भएको छ ।