हेलिकप्टरले बढी भाडा लिएको भन्दै सरकारलाई ध्यानाकर्षण
मकवानपुर-नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले कोरोना महामारीको कहरका बेला हेलिकप्टरहरुले बढी भाडा असुलेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले कोरोना महामारीमा विभिन्न कम्पनीहरूका हेलिकप्टरले सामाजिक दायित्वको ख्याल नगरी बढी भाडा असुलेको भन्दै सम्बन्धित मन्त्रालय र मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनु भएको हो ।
नेता पौडेलले अन्य समयमा हेटौंडा–काठमाडौं हेलिकप्टर चार्टड भाडा १ लाख २५ हजार रहेको भएपनि हाल हेलिकोप्टर कम्पनीहरुले २ लाख ८० हजार लिएकोमा चिन्ता व्यक्त गर्नु भयो कोरोना संक्रमितहरुको आकस्मिक उपचारका लागि काठमाडौं जानुपर्ने वाध्यात्मक परिस्थितीको फाइदा उठाउँदै ती कम्पनीहरुले मानवीय संवेदनाहिन आपराधिक लुट मच्चाएको उहाँको भनाई छ ।
उहाँले यस्ता अमानवीय कार्यको नियन्त्रण र नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणले शीघ्र अनुगमनको काम थाल्नुपर्ने माग गर्नु भएकोछ । ‘सामान्य बेला विलासिताको कोटीमा पर्ने यस्ता साधनहरु जसको उपभोग सामान्य परिवारले गर्न सक्दैनन् तर संकटको बेलामा सो साधन अति आवश्यक साधनमा परिवर्तित हुने भएकाले यसलाई व्यापारको रुपमा हेर्न हुँदैन’ उहाँले भन्नु भयो ।
उहाँले यस विषम् परिस्थितिमा हेलिकप्टरको आकस्मिक प्रयोगको बाध्यताको फाईदा उठाएर नागरिकहरुबाट भाडा बढाउनुको कारणबारे छानबिन गर्नु सम्बन्धित मन्त्रालय र मन्त्रीको नैतिकताको मापन भएको बताउनु भयो ।