निर्धन उत्थान लघुवित्तले एक लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामी गर्दै
काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा विक्री खुला गर्ने भएको हो ।
प्रतिशेयर न्यूनतम मूल्य रू. ५५० तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ । शेयर खरिद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् ।