सरकारले विश्वासको मत नलिएकाले पूर्ण बजेट ल्याउन मिल्दैन :कांग्रेस नेता महत
काठमाडौँ – नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा। रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनु भएको छ ।पूर्वअर्थमन्त्री महतले न्यूज एजेन्सीसँग कुरा गर्दै सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनु भएको हो । उहाँले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाडैँ नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिइकन आगामि आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो बिचारमा उचित हुँदैन ।’
सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा। महतले बताए । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेट अघिको प्रिबजेट छलफल पनि जरुरी रहेको उहाँले उल्लेख गर्नु भएको छ ।
‘विधिपूर्वक प्रिबजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेश गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन । त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो ।’ उहाँले भन्नु भयो , ‘विश्वासको मत नलिइकन बजेट पेश गर्नुपर्ने अवस्था आयो भने अन्तरिक बजेट(काम चालउ बजेट पेश गर्ने । राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होईन, कार्यक्रमहरुपनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ ।’
विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम(कामचलाउ बजेट ल्याउनुपर्ने उहाँले बताउनु भयो ।