विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट
विराटनगर -विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।
सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड(१९ फोकल पर्शन सुनील देवले जानकारी दिनु भयो । आक्रमणबाट डा। रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा(२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो ।
उहाँले आरोपीलाई पक्राउ गरिएको बताउनु भयो । उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समूहले आक्रमण गरेको दावी गरेको छ ।