९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना भन्छिन् :डराउन हुँदैन, मनोबल उच्च राख्नुपर्छ’
वीरगन्ज — वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की १६औँ दिनमा कोरोना संक्रमणमुक्त हुनु भएको छ । पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि बिहीबार उहाँ घर फर्किनु भएको छ ।
गत वैशाख २१ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक सोमबार दिएको स्वाब बुधबार राति परीक्षण गर्दा उपमेयर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । वीरगन्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा बसेकी उपमेयर कार्कीको रिपोर्ट नेगेटिभ आएपछि बिहीबार बिहान मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला उहाँलाई लिन पुग्नु भएको थियो ।
उपमेयर कार्कीले उच्च मनोबल र दृढ इच्छाशक्ति राखे कोरोनाले केही गर्न नसक्ने बताउनु भयो । ‘जस्तो पहिले थिएँ, अहिले पनि त्यस्तै महसुस गर्दैछु,’ उहाँले भन्नुभयो । ‘कोरोनाबाट डराउनु हुँदैन, मनोबल उच्च राखे यसलाई जित्न सकिन्छ ।’
चारैतर्फ संक्रमण फैलिएकाले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बस्न आग्रहसमेत गर्नु भयो । संक्रमितलाई नडराई मनोबल उच्च बनाइराख्न सुझाव दिनु भयो । ‘डराउनेलाई बढी च्याप्दो रहेछ,’ उहाँे भन्नु भयो । संक्रमण पुष्टि भएको ४ दिन अगाडि वैशाख १७ मा ९१ वर्षीया कार्कीलाई अक्सिजनको कमी भएपछि घरमै अक्सिजन सिलिन्डरमार्फत अक्सिजन दिइएको थियो । उपमेयर कार्कीका स्वकीय सचिव विजय पौडेलका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा घरमै अक्सिजन दिइएको थियो ।
वैशाख १७ गते दिउँसो ४ बजेतिर अक्सिजन दिइएको थियो,’ उहाँले भन्नु भयो ‘अक्सिजनको लेभल ठीक भएपछि भोलिपल्ट नै सिलिन्डर हटाइयो ।’ त्यसपछि स्वास्थ्यमा समस्या नदेखिए पनि कोरोना संक्रमणकै कारण अक्सिजन कमी भएको हो कि भन्ने शंका लागेर वैशाख २० मा उपमेयरको स्वाब परीक्षणका लागि दिइएको उहाँले जनाउनु भयो ।
‘वैशाख २१ मा कोरोना पोजिटिभ देखियो,’ पौडेल भन्नु हुन्छ । उहाँका अनुसार चिकित्सकको सल्लाहमा छातीको एक्सरे र सिटी स्कयान गरियो, दुवैको रिपोर्ट राम्रो आएपछि होम आइसोलेसनमा राखियो । वीरगन्ज महानगरपालिकाले वैशाख २४ मा घडिअर्वा पोखरीनजिकैको गोपाल मण्डलीमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएपछि उपमेयर कार्की त्यसमा पहिलो संक्रमितको रुपमा भर्ना हुनु भएको हो ।
स्वकीय सचिव पौडेलका अनुसार अस्थायी कोभिड अस्पतालका चिकित्सकको निगरानीमा रहेकी कार्कीको स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन् । ‘बिहान दूध र अण्डा, खानामा दाल, भात, तरकारी र मासु लिनुहुन्थ्यो,’ पौडेलले भन्नु भयो , ‘दिउँसो नास्तामा बिस्कुट, अन्डा र चिउरा, राति खानामा दाल भात तरकारी लिनुहुन्थ्यो ।’ चिकित्सकको सल्लाहबमोजिम केही औषधिसमेत उपमेयरले सेवन गरेको उहाँले खुलाउनु भयो ।